१.१ पौराणिक कालको म्याग्दी :- पुराणप्रसिद्व ऋषि जडभरतले राजा रहुगणलाई ज्ञानोपदेश दिएको कुरा पुराणहरुमा वर्णन र्गरिएको पाइन्छ । जडभरत गुफा गलेश्वरमा रहेको छ । रघुगंगा गलेश्वर छेउबाट नै बग्दछ । त्यसैले वर्तमानमा ‘राखु’ नामले प्रचलित गाउँ नै राजा रहुगणको राजधानी हुनुपर्दछ भन्ने अनुमान सहजै गर्न सकिन्छ । अर्का पुराण प्रसिद्व ऋषि पुलत्स्यको आश्रम ‘पुला’ (पक्षै) पनि वर्तमान पूलाचौर गाविसमा रहेको छ । मुनिवर पुलत्स्यका छोरा विश्वका छोराहरु आफ्ना बाजेको आश्रममा जन्मी हुर्के बढेको कुरा पुराण, महाभारत तथा रामायणमा उल्लेख भएको पाईन्छ । जस अनुसार लंकाका प्रतापी अनार्य राजा ‘रावण’ को जन्मभूमि पनि यही क्षेत्र हो भन्ने कुरा प्रमाणित हुन्छ । त्यसैले धार्मिक मात्रै होईन पौराणिक दृष्टिले पनि म्याग्दी जिल्ला महत्वपुर्ण रहेको छ ।
१.२ प्राचीन म्याग्दी :- प्रमाणिकताको हिसाबले नेपालको सबभन्दा पुरानो राजनैतिक कालखण्ड ‘किराँत काल’ नै हो । नेपालमा गोपाल, महिषपाल र किराँतहरुको राज्यशासन रहेको समयको यस क्षेत्रको लिखितमा मात्रै होइन श्रुति, स्मृतिमा पनि पाइदैन । लिच्छवीकालीन इतिहासमा राजा मानदेवले गण्डकीपारी मल्लपुरीको व्रि्रोह दमन गरेको कुरा उल्लेख छ । मानदेव प्रथमको मुद्रा ‘मानाङ्क’ बाग्लुङमा पाइएको हुनाले मल्लपुरी भनेको बाग्लुङ, बेनी यतै कतै हुनुपर्दछ भन्ने अनुमानसम्म गर्न सकिन्छ । अझ बाग्लुङ भन्दा बेनी बजार पुरानो वस्ती मानिने हुनाले वर्तमानको म्याग्दी नै मल्लपुरी होला भन्न सकिन्छ । सम्भवतः मगरातलाई नै मल्लपुरी भनिएको पनि हुनसक्छ ।
इशापुर्व ३१०० मा मंगोलियादेखि पामीर पठार भित्रको भूभागमा भीषण भौगर्भिक प्रलय भएकोले मंगोलहरु बर्साई सरेर हिमालयदेखि दक्षिण तर्फलागेको संकेत मिल्दछ । यो कुरासँग मिल्दोजुल्दो प्रसंग (वृतान्तहरु) बाईवल, मनुस्मृति र मून्धुम ग्रन्थमा पनि पाईन्छ । वर्तमान म्याग्दी जिल्लाको दक्षिण पश्चिममा प्राचीनकालमा थापाहरुको राज्य रहेको कुरा माथि नै उल्लेख भैसकेको छ । ‘थापा’ शब्दले थर होइन वंश जनाउँदछ । जसको अर्थ तिब्बली भाषामा ‘मंगोल’ वा ‘मंगोलियाई’ अर्थात् मंगोलियाका बासिन्दा भन्ने जनाउँदछ । अर्थात् मंगोलियाबाट बसाइँ सरेर आएका मंगोलहरु नै प्राचीन मगरहरुका पुर्खा हुन् र यो क्षेत्रमा मंगोलमूलका मगरहरुको राज्य कायम भएको थियो भन्ने कुरा प्रमाणित हुन्छ । अहिलेसम्म पनि ताकम, विम, निस्कोट, पुला, घतान, गाज्ने, ज्यामरुक, राखु आदि परम्परादेखि मानिंदै आएका कोटहरु छन् । कोटको अर्थ राज्य हुन्छ । जति ठाउँमा कोटहरु रहेका थिए त्यति नै ठाउँमा साना साना मगर रजौटाहरु रहेका थिए भन्ने कुराको अनुमान लगाउन सकिन्छ ।
१.३ थापा राज्यकाल :- वि.सं. १२४६ तिर प्रथम राजा कालु थापाले झण्डै वर्तमान म्याग्दी जिल्ला भरी फैलिएको ताकम राज्यको स्थापना गरेका थिए । चार हजार पर्वत भनी मानिने यो थापा राज्यमा थापाहरुले ३०० वर्षम्म शासन गरेका थिए । थापा राजाहरुले पूराना राजवंशी मगरहरुको चर्को शोषण, दमन, मगरगाथा (खामकुरा) मा प्रतिबन्ध लगाएको आदि कारणले थापाहरुको शासनकाल आम जनताको लागि सन्तोषजनक थिएन। आफूलाई क्षेत्री भनाउन थालेका थापाहरुले मगरभाषा प्रति दूराग्रह राखेको हुनुपर्दछ । यद्यपि समाजशास्त्री एम.एस. थापाको फरक भनाई अनुसार पर्वते मल्ल राजाहरुले आफ्नो राज्यको सीमाभित्र मगर कुरा गरेमा चार पैसा दण्ड लाग्ने नियम बनाएका थिए । जे भएपनि थापाहरुले जनतालाई रिझाउन नसकेकोले गुल्मी-प्यूठान तिरका मगरहरुले कर्णाली प्रदेशका मल्ल राजा आनम्म (आनन्द बम) लाई निम्त्याए भने उनकै नाति डिम्ब बमलाई ताकमेली मगरहरुले थापा राज्य हडप्नमा मद्दत पुर्याएको कुरा मल्ल वंशावलीमा उल्लेख भएको पाइन्छ ।
१.४ मल्लकालीन म्याग्दी :- वि.सं. १५४५ मा डिम्व बम मल्लले ताकमेली मगरहरुको सहयोगमा ताकम, पुला र ज्यामरुकका थापा राज्य लगायत गल्कोट समेतको आठ हजार पर्वत पनि आफ्नो राज्यमा गाभे । पर्वत राज्य वर्तमान म्याग्दी, डोल्पा, बाग्लुङ, पर्वतका साथै मुस्ताङसम्म फैलिएको थियो । पुलाको गाज्नेमा राजा डिम्बद्वारा स्थापित जगन्नाथजीको मन्दिर अध्यावधि रहेको छ । बाग्लुङमा रहेको प्रसिद्व भगवती कालीको मन्दिर डिम्वका नाति प्रतापी नारायण मल्लले स्थापना गरी तानसेनका सेनवंशी राजा मणिमुकुन्द सेनबाट दाइजोमा प्राप्त भएको भगवतीको मूर्ति प्रतिस्थापन गरेका थिए ।
इतिहासकारहरुले पर्वतमा मल्ल राजाका १४ पुस्ताले शासन गरेको बताए पनि अन्तिम मल्ल राजा कीर्तिवमले पुलामी बानियाँहरुको नाममा वि.सं. १८३६ मा गरिदिएको ताम्रपत्रमा राजा -९ स्पष्टरुपमा अंकित भएको हुँदा मल्ल वंशका नौ वटा राजाले मात्र पर्वतको राज्य सम्हालेको प्रमाणित हुन आउँछ । रणबहादुर शाहको राज्यकालमा बहादुर शाहले पाल्पाली राजाको सहयोगमा सैनिकको घेरामा पारी पर्वतका राजालाई आत्मर्समर्पण गर्न लगाई शक्तिशाली पर्वत राज्यलाई नेपालमा गाभेका थिए । मल्लकालीन पर्वत राज्यद्वारा संचालित २२ खानी मध्ये १८ वटा खानी वर्तमान म्याग्दी जिल्लाभित्र रहेको र बेनी बजारको मध्यभागमा टक्सार स्थापित थियो । जुन अनिवार्य स्कूल (हाल बेनी सामुदायिक माध्यमिक विद्यालय) निर्माण गर्दा भत्काइएको थियो । वि.सं. १९७४ मा वीर शमसेरको शासनकालमा खानी गोश्वारा कार्यालय खारेज भएपछि टक्सारी काम बाग्लुङमा सारिएको थियो । राणाकाल र त्यसपुर्वको शाह शासन कालभरि वर्तमान म्याग्दी जिल्ला पाल्पा जिल्ला प्रशासन कार्यालय अर्न्तर्गत रह्यो । १९८५ मा बाग्लुङमा छोटी गौडा स्थापना भएपछि प्रशासनिक तथा न्यायिक काम त्यसैबाट हुँदै आएकोमा २०१८ सालको जिल्ला विभाजनले अलग अस्तित्व प्रदान गरेको हो । |