‘बेनीको बजार, जतामायाँ उतै छ नजर, किरेमिरे जाले रुमाल’ हो, तिनै मायाँलुहरुको प्यारो आगन बेनी बजारमा गत माघ पहिलो साता म्याग्दी महोत्सब सम्पन्न भएको छ ।
दुई नदीको निरन्तर कटानले त्रिकोणाकार रुपमा कुँदिएको बेनी बजार पवित्र काली र मंगला नदीको संगमस्थल हो। बेनी बजार पुग्ने जो कोही गुनगुनाउँछ (बेनीको बजार जतामायाँ उतै छ नजर, किरेमिरे जाले रुमाल) चर्चित लोकगायिका मनमायाँ छन्त्यालले गाएको यो गीत स्थानिय जनजिब्रोमा राम्रौ भिजेको छ। म्याग्दी सदरमुकाम बेनी बजारको क्षेत्रफल सानो भएपनी इतिहास भने लामो छ। कुनै बेला भारत-भोट व्यापारको केन्द्र रहेको बेनी समृद्ध चौविसे राज्य पर्वतको राजधानी थियो। चौविसे राज्य पर्वतको राजधानी रहेको समयावधिलाई यो बजारको स्वर्णकाल मानिन्छ।
प्राचिन समयमा 'साल्ट ट्रेड रुट' को रुपमा चिनिने यो बजारको ऐतिहाँसिक महत्वलाई झल्काउने तथा आन्तरिक पर्यटन बढाउन म्याग्दी महोत्सव गरिएको हो । उद्योग वाणिज्य संघको पहलमा भएको उक्त महोत्सबमा एक लाख आन्तरिक तथा बाहृय पर्यटक भित्रीएका थिए। 'साना, लघु, मझौला उद्योग, जडिबुटीमा आधारित उद्योग ब्यवसाय, शिक्षा, कलासंस्कृति पर्वद्धन र पर्यटन भित्राउन महोत्सव आयोजना गरिएको थियो'।
चीन र नेपालले मुस्ताङ्गको नेचुङ्गलेक्जे नाका खुल्ला गर्ने सहमती गरेपछी यहाँको व्यापार प्रवर्द्धन गर्न म्याग्देलीहरु महोत्सव गर्न उत्साहित भएका हुन्। त्यस पश्चात् २०६० र २०६३ मा गरी दुई पटक महोत्सव सञ्चालन भएको छ। विभिन्न खेलकुद प्रतियोगिता, दोहरी गित, स्थानिय लोकसंस्कृति र भेषभुषा समेतको झाँकी, जिल्ला चिनाउने फोटो एवं बृत्तचित्र पर्दशनी, स्थानिय कृषी उत्पादनका सामाग्री, लघुउद्योगका उत्पादनको पर्दशनी, ढोकायको गुन्द्रुक, सिस्नुको पाउडर, सिव्रानथोकको र्सवत लगाएतका स्थानिय खानाको पर्दशनी, उर्जा प्रविधी, स्थानिय खानीबाट निकालिएका कच्चा तामाहरु, स्लेट ढुङ्गालगाएतका सामाग्रीलाई प्रर्दशनी गराईएको थियो।
पुर्व सांसद तथा म्याग्दीको इतिहाँसका अध्यता चन्द्र प्रकाश बानियाँका अनुसार भोट तिव्बतको प्रमुख व्यापारीक नाका मुस्ताङ्गबाट तिब्बति सामान र पाल्पा बाट भारतिय सामान ल्याई विनिमय गर्ने व्यापारिक केन्द्र रहेका कारण राजमल्लले वि.सं. १६६३ तिर पर्वत राज्यको राजधानी बेनीमा राखेका थिए । पृथ्वी नारायण शाहले वि.सं १८२६ मा भक्तपुर कब्जा गरेपछी भक्तपरे महेश्वर यहाँ आई व्यापारमा प्रभुत्व कायम गरेका थिए । गोर्खाली सेनाले वि. सं १८४३ असोज १४ गते पर्वतको राजधानी कब्जा गरे पछी बेनीको 'राजधानी' पगरी पनी गुम्न पुग्यो।
इतिहाँस जतिसुकै समृद्धशाली भए पनि समयचक्रले बेनी बजारलाई भोको-नाङ्गो र दुब्लेा-पातलो बनाउँदै लगेको छ। शाही ढोरपाटन सिकार आरक्ष एवं धौलागिरी हिमाल पदयात्रा जाने तथा दामोदर कुण्ड र मुक्तिनाथ तीर्थ जाने मुख्य प्रवेशद्धार भएकोले यो बजारलाई 'मुक्तिद्धार' उपनामले चिनिन्छ। मालढुङ्गा-बेनी १३ किलोमिटर र बाग्लुङ्ग -बेनी २४ किलोमिटर सडकले छोएको छ। बेनी-दरवाङ्ग-जलजला(बाग्लुङ्ग) सम्म र बेनी-तातोपानी-जोमसोम (मुस्ताङ्ग) राजमार्ग निर्माणाधिन छ। काली र म्याग्दी नदीको निरन्तर कटानले बर्षोनी खुम्चदै गएको यो बजारमा बर्षायाममा त राम्रोसंग सुत्नसम्म पाईदैन् ।
बेनी बजारदखी मोटरबाटोको सुविधा पुगेको ३ किलोमिटर उत्तरको पवित्र तीर्थस्थल गलेश्वरधाम र ६ किलोमिटर पश्चिमको तातोपानी कुण्ड यसका थप आर्कर्षण हुन्। महोत्सवमा आएका पर्यटकलाई तातोपानी, गलेश्वर र जगन्नाथ लगाएतका पर्यटकिय स्थलमा भ्रमण गराउने प्रवन्ध पनि महोत्सव आयोजकले गरेका छन्। बेनी पुगेपछी मुस्ताङ्ग र जिल्ला कै विभिन्न गाउँमा सामान ढुवानी गर्न उकालिएका खच्चडको लर्को देख्दा परिवेश नै फरक लाग्छ। बेनी बजार सुकुटीका लागी प्रख्यात छ। यहाँ डोल्पा, मुस्ताङ्ग र तिव्बति च्यांग्रा तथा स्थानिय राँगाको सुकुटी बार्है महिना पाइन्छ। लाहुरे संस्कृतिमा रमाएको यो बजार पुग्ने जो कोहीले यहाँको बर्साई सम्झिरहन्छ। |