म्याग्दीको घार गा.वि.स.मा रहेको घोडेपानी गांउ तथा पुनहिल राम्रो पर्यटकिय स्थल हो । समुन्द्र सतह देखि २८ सय मीटरको उचाईमा रहेको घोडेपानी सुन्दर मानव वस्ती हो । कास्कीको घान्द्रुक, नयांपुल आदीवाट समेत जान सकिने यस गांउ अन्नपूर्ण संरक्षण क्षेत्र अन्तरगत पर्दछ । मगर जनजातिको बसोवास रहेको घोडेपानीमा बनेका घरहरु तथा त्यहां प्रयोग गरिएका निलो रंगले घाडेपानीको सुन्दरतामा आकर्षण थपेका छन् । साथै त्यहां रहेको झण्डैे सम्पूर्ण घरहरुमा बिदेशी पर्यटकहरुलाई ध्यानमा राखि बनाईका सुविधा सम्पन्न होटल रेष्टुरेण्टहरु संचालनमा रहेको छ । साथै यस गांउवाट २ घण्टाको उकालो पछि धौलागिरी, अन्नपूर्ण लगायतका हिमश्रृंखलाहरु दृष्याबलोकन गर्न सकिने सुन्दर भ्यू प्वाइन्ट छ, जुन पुनहिलको नामले परिचित छ । अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रसिद्ध यस पुनहिल समुन्द्र सतह देखि ३२ सय १० मिटरको उचाईमा रहेको छ । घोडेपानीको लालीगुंरासको जंगल पनि प्रसिद्ध छ । नेपाल राज्यकै दोश्रो ठूलो लालीगुरासको यस जंगलमा झण्डै १८ थरीका गुरांसहरु पाइन्छन् । |